नमूना योग्य काम गर्दै युवा वडाध्यक्ष पुन

माया स्मृति पुन Friday, December 29, 2017

रोल्पा, पुस १४ । स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएपछि रोल्पाका अन्य स्थानिय तहका जनप्रतिनिधिहरुले गाउँपालिकाको नाम फेर्ने, वडाध्यक्षहरुले त्यसको विरोध गर्ने अनावश्यक लफडामा लागिरहेका छन् । तर रोल्पाकै सुनछहरी गाउँपालिकाका वडा नम्बर ६ फगामका अध्यक्ष अमरजीत पुनमगरले भने जिल्लामै नमूना योग्य काम गर्नुभएको छ ।


पत्रकारिता क्षेत्रबाट गाउँको सेवा गर्ने भन्दै जनप्रतिनिधि बन्नु भएका पुनले आफू निर्वाचित भएदेखि अहिलेसम्म विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसँग समन्वय र सहकार्य गर्दै गाउँमा दर्जनौं विकास निर्माणका काम सम्पन्न गराउनुभएको छ ।

माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बन्नुभएका पुनले निर्वाचन हुनुअघि जनता माँझ ल्याएको ‘समृद्ध फगाम’ बनाउने प्रतिवद्धता पत्रानुसार काम गरिरहेको बताउनुभयो । आफू निर्वाचित भएपछि पहिलो प्राथमिकता आफ्नै गाउँ जोड्ने सुलीचौर–फगाम मोटर बाटो निर्माण गर्ने भएकोमा अहिले उक्त सडकखण्डमा नियमित गाडी चल्न थालेको बताउनुभयो ।


पुन वडाध्यक्ष बनेपछि गाउँको अत्यन्तै समस्याको रुपमा रहेको मावि फगामको जिर्ण भएको विभिन्न गैरसरकारी संस्थाहरुको सहयोगमा नयाँ भवन निर्माण भएको स्थानीय ओबीलाल पुनले बताउनुभयो ।

गाउँकै गाबाङबाट मावि फगाम तर्फुधार सम्मको बाटो निर्माण, लुङ्ग्री धर्मशाला मोटर बाटो निर्माण, दाफल खानेपानी निर्माण, प्रावि आमडाँडाको जिर्ण भवन मर्मत, वर्षायाममा विद्यार्थी हिड्ने सुनछहरी–५ र ६ जोड्ने फगाम खोलामा झोलुङ्गे पुल निर्माण कार्य सुरु, हाङबाङ सिँचाई आयोजनाका लागि बजेट विनियोजन लगायतका काम पुनको पहलमा भएका ज्वलन्त उदाहरण हुन् ।


निर्वाचनमा उम्मेदवारी दिँदा कलिलो उमेर व्यक्तिले विकास निर्माणमा के गर्न सक्लान र ? भन्ने लागेको भएता पनि अहिले हामीले सोचे भन्दा पनि राम्रो काम गर्नु भएको छ ।’ स्थानीय रेशम मगरले भन्नुभयो ।
अध्यक्ष पुनले आफू जनताको स्वयम्सेवक भएकाले सधै जनताको दुख–सुख र भावनासँग जोडिने बताउनुभयो । हरेक सामाजिक कार्य एक्लैले गर्न नसकिने भएकाले समृद्ध गाउँ फगाम बनाउनका लागि सबैको सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

337 total views, 1 views today