कडा सुरक्षाकाबीच नाम फेर्ने प्रस्ताव पारित

रोल्पा अनलाइन Thursday, December 28, 2017

रोल्पा, पुस १३ । गाउँपालिकाका जनप्रतिनिधि र जनताको विरोधकाबीच रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम ‘सहिद सुनिल स्मृति गाउँपालिका’नामाकरण गर्ने प्रस्ताव गाउँपालिकाको दोस्रो गाउँसभाले बुधबार साँझ पारित गरिएको छ ।


पुस ७ गतेको गाउँपालिकाको बैठकमा नाम परिवर्तन गर्ने प्रस्ताव पेश गरिएपछि विरोध हुन थालेपछि कडा सुरक्षाकाबीच दोस्रो गाउँसभा हिजो साँझ अबेर मात्रै सकिएको थियो । ४४ सदस्यीय गाउँसभामा १९ जनप्रतिनिधिले नाम परिवर्तनको निर्णयमा असहमति जाहेर गरेका छन् । बहुमतको दम्भ देखाउँदै गाउँपालिकाको नाम परिवर्तन गर्न खोजिएको भन्दै ४ नम्बर वडा अध्यक्ष गञ्ज क्षेत्रीको नेतृत्वको जनप्रतिनिधिले दिनभर सुलिचौरमा विरोधका नाराबाजी गरेका थिए । सभा कक्षमै विमती राख्ने जनप्रनिधिले ‘गाउँपालिकाको नाम फेर्न पाइदैन, बहुमतको दम्भ देखाउन पाइदैन, गाउँपालिको नाम परिवर्तन गर्ने निर्णय मान्दैनौं,’ लगायतका नारा निरन्तर लगाएका थिए । असन्तुष्ट बजारवासी र माओवादी केन्द्र बाहेक अन्य दलका नेता कार्यकर्ताले पनि गाउँसभाको बाहिर विरोध प्रदर्शन गरेका थिए ।


एक नगरपालिका र ९ गाउँपालिका रहेको रोल्पामा ७ वटामा माओवादी, २ वटामा एमाले र एकमा काँग्रेसले जितेको थियो । माओवादीले जितेका गाउँपालिकाहरुमा सशस्त्र द्वन्द्वको क्रममा मृत्यु भएका व्यक्तिहरुको नामबाट गाउँपालिकाको नाम राख्न थालेपछि विरोध भएको हो । जिल्लाको सुकिदह गाउँपालिकाको नाम ‘गंगादेव’ र दुईखोली गाउँपालिकाको नाम ‘परिवर्तन’ नामाकरण गर्ने प्रस्ताव आएपछि त्यहाँपनि विरोध भइरहेको छ ।

301 total views, 1 views today