नयाँ भवन पाउँदाको खुसीयाली

रोल्पा अनलाइन Thursday, December 7, 2017

भन्छन्-जुनी फेरे जस्तो लाग्छ

रोल्पा, मंसिर २१ । विद्यालयमा आवश्यक भवन नहुँदा समस्यामा परेका त्रिवेणी गाउँपालिका–२ झुम्लुङका विद्यार्थीहरु अहिले खुसीयालीमा छन् ।


विगत लामो समदेखि विद्यालयको भवन निर्माणका लागि हार–गुहार गरिरहेका शुक्र माध्यामिक विद्यालय झुम्लुङका शिक्षक, अभिभावकहरु पनि अहिले खुसीयालीमै छन् । विद्यालयको आवश्यकतालाई हेरेर मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले उक्त खुसीयाली जुराइदिएको हो । जिल्ला शिक्षा कार्यालय रोल्पाको समन्वयमा सेभ द चिल्ड्रेनले सहयोग गरेपछि अहिले उक्त विद्यालयमा ६ कोठे चिटिक्क परेका ३ वटा भवन बनेपछि सबै मिलेर खुसीयाली मनाएका हुन् ।

सदरमुकाम लिबाङबाट अबलोकनका लागि मंगलवार उक्त विद्यालयमा पुगेको एक टोलीलाई विद्यार्थीहरुले फूलमालाले स्वागत तथा सम्मान गरेका थिए ।


सेभ द चिल्ड्रेनको ५७ लाख ४३ हजार २ सय २५ रुपैयाँ आर्थिक सहयोग र स्थानीयको ४ लाख ७२ हजार ८ सयको श्रमदानबाट निर्माण भएको भवनमा अध्ययन गर्न पाउँदा विद्यार्थीहरु अत्यन्त हर्षित देखिन्थे । भवनको बाहिरबाट हेर्दा झ्याल, ढोका मात्र होइन कक्षा कोठामा कार्पेट, पि फम, चकटी, डस्क, बेन्च र मिलाएर राखिएका हाजीर गर्ने प्याट बोर्डले विद्यार्थीलाई हौंसायको देखिन्थ्यो ।


कक्षा कोठा अवलोकन पश्चात टोलीसँगको भेटमा विद्यालयका प्रधानाध्यापक यामप्रसाद डाँगीले नयाँ भवन पाएपछि अत्यन्तै खुसी भएको बताउनुभयो । ‘नयाँ भवनको कोठामा जाँदा जुनी फेरे जस्तो लाग्छ’ आफ्नो अनुभूति छोटकरीमा सुनाउदैं प्रधानाध्यापक डाँगीले भन्नुभयो ।

भवनसँगै कक्षा कोठाका लागि चाहिने आवश्यक सबै सामाग्री समेत सहयोगी संस्थाबाट प्राप्त गरेको उहाँले बताउनुभयो । सदरमुकामबाट पुगेको टोली भन्दा केहि समय ढिलागरी आएको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वली सहितको टालीसँग पनि उनीहरुले खुसीयाली बाडेका थिए । साथै जनप्रतिनिधिहरुसँग विद्यालयले आवश्यक इ–लाइब्रेरी, खेल मैदान लगायतका माग समेत राखेको थियो । विद्यालयको मागलाई सकारात्मक रुपमा लिदै गाउँपालिका अध्यक्ष वलीले आफूले सक्दो सहयोग तथा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सदरमुकाम लिबाङबाट महिला तथा बालबालिका कार्यालय रोल्पाका प्रमुख महिला विकास अधिकृत लोकेन्द्रा आचार्य, जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत रविन्द्र पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर कमल महतरा, हुरेक रोल्पाका सचिव हस्तमाली बाँठा, ‘हामी सिक्न सक्छौं’ परियोजना संयोजक कृष्ण घर्ती, उक्त परियोजनाकै धना रावत, मील संयोजक धरेन्द्र डाँगी, पत्रकारहरु रेशम विक, अञ्जली मगर, रमेश डाँगी, माधवकुमार ओली सहितको टोली त्यहाँ पुगेको थियो । यस्तै गाउँपालिका अध्यक्ष वली, त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष कबिराज बुढा, सदस्यहरु तथा वडा नं. ७ र ५ का वडाध्यक्षहरुको पनि उपस्थिति रहेको थियो । यस्तै शिक्षक महासंघबाट अरनीको माविका शिक्षक गणेश बुढा लगायतको पनि उपस्थिति रहेको थियो । टोलीसँगको भेटमा विद्यालयको बालक्लवको गतिविधि, शैक्षिक गुणस्तरका विषयमा छलफल समेत भएको थियो ।
हुरेक रोल्पाद्धारा सञ्चालित ‘हामी सिक्न सक्छौं’ परियोजना मार्फत जिल्लाका दुई वटा विद्यालयमा ६÷६ कोठे भवन निर्माण गरिएको छ । यस्तै सोही परियोजनाबाट निर्मित माडी गाउँपालिकाको नेत्र आधारभूत विद्यालयमा पनि बुधवार सदरमुकामबाट एक टोली पुगेर अनुगमन तथा अवलोकन गरेको जनाइएको छ ।

170 total views, 2 views today