भीरबाट लडेर मृत्यु

रोल्पा अनलाइन Friday, December 1, 2017

रोल्पा (लिबाङ) : मंसिर १० गते थबाङमा सम्पन्न चुनावको समीक्षामा गएका थबाङका युवाको भीरबाट लडेर मृत्यु भएको छ। थबाङ गाउँपालिका-१ फुन्टिबाङका २२ वर्षीय याम प्रकाश झाँक्रीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भीरबाट लडेका युवक खोलामा खसेका थिए। खोलाको खोचमा ढाडिएको अवस्थामा युवको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुदर्शन पन्थीले जानकारी दिए।

मृतक युवको शव बिहीबार जिल्ला अस्पताल रेउघामा पोष्टमार्टम गरिएको छ। पोष्टमार्टमपछि शव परिवारले जिम्मा लिएर दाहसंस्कार समेत गरेका छन्। नेकपा माओवादी केन्द्र निकट वाईसिएल सदस्य रहेका झाँक्री मंसिर ११ गते थबाङ गाउँपालिका-३ लाटाबाङ गाउँमा चुनावी समिक्षाका लागि गएका थिए।

उनको शव १२ गते खोलामा भेटिएको थबाङका स्थानीय मौसम रोका मगरले जानकारी दिए। भीरबाट करिब ३० मिटर तल खोलामा खसेर खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका थिए। मदिरा सेवन गरेकाले लडेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। साथै पसल गएका दुई युवकले पनि मदिरा खाएको बताएका छन्।

प्रहरीले भने दुघर्टना वा घटना भन्ने नखुलेको जनाएको छ। भिसेरालगायतका जाँचका लागि विधि विज्ञान शाखा काठमाडौंमा पठाइएको छ।

http://annapurnapost.com

56 total views, 1 views today