रोल्पामा अझैं हटेन ‘युद्ध’को धङधङी

माधवकुमार ओली Thursday, November 30, 2017

रोल्पा, मंसिर १४ । गत असारको स्थानीय निर्वाचनमा रोल्पा नगरपालिका–१० को मतपरिणाम आफ्नो पक्षमा नआएपछि मतगणना स्थलनजिकै वाइसीएल रोल्पाको एक समूहले नेपाली काँग्रेसका ८ जना कार्यकर्तालाई निर्घात कुटपिट गरे ।


उक्त घटना भएकै अर्काे दिन रोल्पाको त्रिवेणी गाउँपालिकामा पनि नेकपा एमालेको प्यानल विजयी भएपछि बेलुकी खाना खान जादा युथ फोर्स त्रिवेणी गाउँपालिकाका अध्यक्ष विनोद थापाले माओवादी कार्यकर्ताको हातबाट टाउकोमा तरबार खानुप¥यो । यी घटनालाई विषयलाई लिएर काँग्रेस र एमालेले स्थानीय प्रशासनलाई पटक पटक घचघच्याउँदा पनि प्रशासनले कानमा तेल हालेर बसेपछि दुबै घटनाको कानुनी प्रक्रिया नै अघि बढ्न सकेन । देशका सबैभन्दा ठूला दलहरु नै जिल्लामा यसरी झुक्नुपर्ने अवस्था छ भने अन्य साना दलको पीडा झन भनीनसक्नु रहेको पीडित दलका नेताहरुको गुनासो छ ।
यस्ता घटनालाई विर्सेर फेरी १० मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केही निष्पक्ष हुने आशा गर्दै प्रतिष्पर्धामा होमीएका दलहरु अहिले पनि अछुटो हुन सकेनन् । निर्वाचनकै दिन जिल्लाको जौलिपोखरीमा एक जना काँग्रेसका कार्यकर्ता माओवादीबाट विना कारण कुटिए पनि चुप लागेको रोल्पा काँग्रेसले मंगलवार फेरी जिल्लाको सुवर्णावती गाउँपालिका–६ का नेपाल विद्यार्थी संघका जिल्ला सदस्य विष्णु केसीले बेहोस हुने गरी माओवादीको सामूहिक आक्रमणको पीडा सहनु परेको छ । रोल्पामा अझै गणतन्त्र नआएको काँग्रेस रोल्पाका सभापति एवम् सिंचाई राज्यमन्त्री अमरसिंह पुनले बताउनुभयो । ‘अझैपनि १० वर्षे सशस्त्र द्वन्द्वमा जस्तै रोल्पाली जनताहरु अन्य विचार आस्था राखेकै कारण मरणासन्न हुने गरी कुटिनु परेको छ’ पुनले भन्नुभयो । अहिले पनि प्रहरी, प्रशासनले निष्पक्ष रुपमा सुरक्षा दिन नसकेका राज्यमन्त्री पुनको आरोप छ । निर्वाचनमा सुवर्णावती गाउँपालिका–६ दलङ्घा मतदान केन्द्रमा काँग्रेसको प्रतिनिधि बसेर फर्जी मतदान गर्नबाट रोकेको भन्दै केसीमाथी आफ्नै घरमा गई माओवादी कार्यकर्ताहरुले हतियार प्रहार गरी घाइते गराएको नेपाल विद्यार्थी संघ रोल्पाले जनाएको छ ।
एक विज्ञप्ति जारी गर्दै नेविसंघ रोल्पाले घटनाको भ्रत्सना गर्दै दोषीमाथि तत्काल कारबाही नभए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । पटक पटक आफूहरुमाथि आक्रमण हुँदा पनि प्रशासन मौन बसे प्रशासन घराउन गर्ने नेविसंघ रोल्पाका सचिव नारायण रेग्मीले बताउनुभयो ।

60 total views, 1 views today