विस्तृत शान्ति सम्झौताको ११ वर्ष ः द्वन्द्व पीडितले न्याय पाएनन (भिडियो रिपोर्ट)

माधवकुमार ओली Wednesday, November 22, 2017

रोल्पा, मंसिर ६ । १० वर्षे सशस्त्र द्वन्द्व गरेको तत्कालिन विद्रोही पक्ष नेकपा माओवादी र सरकार बीच विस्तृत शान्ति सम्झौता भएको विहिवार ११ वर्ष पुगेको छ ।


विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष पुग्दा पनि सशस्त्र द्वन्द्वले लगाएको घाउ भने अझै निको नभएको पीडितहरुले गुनासो गरेका छन् । १० वर्षे सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पामा शान्ति सम्झौता भएदेखी गाउँमा शान्ति आएपनि सशस्त्र द्वन्द्वको सयममा भएका गम्भीर मानवअधिकार उलंघन घटनाका पीडितहरुले भने अझैं न्याय नपाएको गुनासो गरेका छन् । सरकारले राहतको नाममा १० लाख दिएर आफूहरुलाई थामथुम पार्न खोजेको रोल्पा नगरपालिका ६ कोटगाउँकी द्वन्द्व पीडित मेघमाली बुढाले गुनासो गर्नुभयो । आफूहरुले न्याय पाउनका लागि अझै आश नमारेको समेत उहाँले बताउनुभयो ।
विस्तृत शान्ति सम्झौतामा सशस्त्र द्वन्द्वको सयममा भएका गम्भीर मानवअधिकार उलंघनका घटनाहरुलाई ६ महिना भित्र सत्य निरुपन तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन गरी पीडितहरुले न्याय दिनु भनिएको छ । तर ८ वर्ष ढिलो गरी गठन भएका दुबै आयोगले पीडितहरुको उजुरी लिने काम बाहेक अन्य कुनैपनि काम नगरेकाले पीडितहरु थप पीडामा रहेको मानवअधिकारकर्मी खेम बुढाले बताउनुभयो ।
विस्तृत शान्ति सम्झौतामै द्वन्द्व पीडितलाई न्याय दिलाउनु भनिएकाले आयोग गठन गर्ने मात्र नभई सरकारले आयोगका लागि सम्पूण कानुनी प्रावधान बनाई तत्काल पीडितहरुको उजुरीलाई किनारा लगाउन जरुरी रहेको बुढाले औल्याउनुभयो ।

45 total views, 1 views today