लालकिल्ला भत्काउन काँग्रेसको जोडबल

माधवकुमार ओली Tuesday, November 21, 2017

रोल्पा, मंसिर ५ । दश वर्षे सशस्त्र द्वन्द्व पश्चातका विभिन्न निर्वाचनहरुमा माओवादीले आफ्नो पार्टी विजयी भएको भन्दै लालकिल्लाको रुपमा चिनाउदैं आएको छ ।


२०६४ र २०७० सालको संविधानसभाको दुबै निर्वाचनमा रोल्पामा विजयी भएको माओवादी गत असारमा सम्पन्न स्थानीय निर्वाचनमा भने सबै स्थानीय तहमा विजयी हुन सकेन् र फलस्वरुप लालकिल्ला पनि भत्कीएको अन्य पार्टीहरुले बताउन थालेका छन् । अहिले पनि लालकिल्ला भत्काउन नेपाली काँग्रेसले आफ्ना केन्द्रीय नेताहरुलाई जिल्ला दौडाहामा ल्याएको छ । गत हप्ता मात्रै नेपाली काँग्रेसले आफ्ना केन्द्रीय सदस्य पार्वता (डिसी)चौधरीलाई बोलाएर जिल्लाका विभिन्न स्थानमा आमसभा तथा घरदैलो कार्यक्रम गरेको थियो भने अहिले प्रभावसाली युवा नेता धनराज गुरुङलाई जिल्ला दौडाहा खटाएको छ । सोमबार मात्र सशस्त्र द्वन्द्वको सुरुवात भएको होलेरीमा चुनावी सभा कार्यक्रमको आयोजना गरी गुरुङलाई सम्बोधन गर्न लगाएको नेपाली काँग्रेस रोल्पाले मंगलवार सुलिचौरमा अर्काे सभाको आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रमलाई पनि युवा नेता गुरुङले नै सम्बोधन गर्ने नेपाली काँग्रेस रोल्पा क्षेत्र नं. १ का सभापति सिमबहादुर विष्टले जानकारी दिनुभयो । नेता गुरुङलाई अझै १÷२ दिन जिल्लामै खटाउने तयारी भैरहेको पनि विष्टले बताउनुभयो ।
पत्येक्षमा एमालेबाट उम्मेदवार नहुदा पनि आश
यस्तै स्थानीय तहमा दुई वटा तह जितेको नेकपा एमाले र माओवादीको गठबन्धन बनेपछि प्रत्येक्ष तर्फ एउटापनि उम्मेदवार नपाएको एमाले रोल्पाका केहि असन्तुष्ट मतदाताहरुले काँग्रेसमा भोट हाल्न सक्ने पनि काँग्रेसले आश गरेको छ । विगत २५ वर्षदेखि अन्य पार्टीलाई मात्र जिताउन सहयोगी भूमिका खलेको भन्दै एमालेले कम्तीमा प्रदेशसभाका लागि एउटा क्षेत्रमा उम्मेदवार जसरी पनि पाउनुपर्ने माग गरेको थियो । तर माओवादीले आफ्नो पकड रहेको जिल्ला भन्दै सबै उम्मेदवार आफ्नै पार्टीबाट उठाएछि एमाले कार्यकर्ताहरुमा केहि असन्तुष्टी देखिएको छ ।
राप्रपा नेता पूर्वमन्त्री घर्तीको पनि साथ
२०३६ सालदेखि ०४६ सालसम्म देशमा पञ्चायती शासनकालमा पटक पटक मन्त्री बनेका राप्रपाका पूराना नेता पूर्व मन्त्री बालाराम घर्ती समेत लोकतान्त्रिक गठबन्धन मार्फत काँग्रेसलाई भोट माग्न खटेका छन् । यसले पनि काँग्रेसलाई ठूलो राहात मिल्ने देखिएको छ ।
प्रधानमन्त्रीलाई पनि बोलाउने तयारी
यस्तै नेपाली काँग्रेस रोल्पाले जनता रिझाउनका लागि अनेक उपाय लगाइरहेको बेला नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि रोल्पामा बोलाउने तयारी गरेको छ । बिहिवार जिल्लामा चुनावी सभाको आयोजना गरी प्रधानमन्त्रीलाई सम्बोधन गर्ने बोलाइएको नेपाली काँग्रेस रोल्पाका सभापति समेत रहनुभएका प्रतिनिधि सभाका उम्मेदवार अमरसिंह पुनले जानकारी दिनुभयो ।


क्षेत्र नं. १ मा जोडबल
स्थानीय तहको निर्वाचनमा जित हाशिल गरेको एउटा गाउँपालिका पर्ने प्रदेशसभाको क्षेत्र नं. १ मा आफ्नो पकड बलियो भएको भन्दै काँग्रेस रोल्पाले उक्त क्षेत्रमा बढी जोडबल गरेको पाइन्छ । केन्द्रीय नेताहरुको दौडाहा पनि १ नं. क्षेत्रमा नै बढी रहेको बताइएको छ । पूर्वमन्त्री बालाराम घर्तीको घरपनि यहि क्षेत्रमा पर्ने भएकाले उनको प्रभाव क्षेत्रबाट काँग्रेसलाई भोट आउने अनुमान गरिएको छ ।

माओवादीको ‘टुरिष्ट’ उम्मेदवार
यस्तै माओवादीले क्षेत्र नं. १ मा उम्मेदवार बनाएका नेता कुलप्रसाद केसी क्षेत्र नं. २ का बासिन्दा हुनुहुन्छ । यसले गर्दा पनि भेगिए हिसाबले मत आउने आशा गरेको काँग्रेस उम्मेदवार शेरबहादुर महराको भनाई छ । अन्य क्षेत्रबाट चुनाव लड्न आएका नेताहरुले विकास निर्माणमा धोका दिने भन्दै आफ्नै क्षेत्रका नेतालाई विजयी बनाउने आश्वासन समेत मतदाताहरुले दिएको काँग्रेस उम्मेदवार महराले बताउनुभयो ।

86 total views, 1 views today