बनारसका ठग भान्जा र हाम्रा नेता

प्रतीक प्रधान Saturday, November 18, 2017

बलिउडका उच्चस्तरीय अभिनेतामध्येका हुन् आमिर खान । अरू अभिनेताले नेताको कुरा गर्दा जनताले हाँसेर उडाउँछन् । तर यिनी फरक छन् । यिनले खेलेको सिनेमाले दर्शकको मनु छुन्छ भने बोलेका कुरा दिमागको गहिराइमा बस्छ । कला, संस्कृति र संगीतको सीमाना नहुने कारणले भारतलाई राजनीतिकरूपमा समर्थन गरे वा नगरे पनि धेरै नेपाली दर्शकले आमिर खानलाई इज्जतसँग हेर्छन् र उनको कुरा मनन गर्छन् । त्यसैले कुराको सुरु आमिर खानले स्टार वल्र्ड च्यानलका लागि चलाएका ‘सत्यमेव जयते’ कार्यक्रममा सुनाएको एउटा कथाबाट गरौँ ।

एक जना बनारस सहरको ट्रेन स्टेसनमा उत्रनेबित्तिकै एक युवक आएर चरणमा पर्छ । व्यक्ति छक्क पर्छ ।

“को हौ तिमी?” त्यो व्यक्तिको मुखबाट निस्कन्छ ।

“ओहो चिन्नुभएन मामा ? म मुन्ना, तपाईँको भान्जा ।”

अझै छक्क परेका व्यक्ति आफ्नो भान्जा पर्ने युवक कसरी वाराणसी आइपुग्यो भन्ने बुझ्दैन । तर, सबैकुरा सोध्न पनि अप्ठेरो हुन्छ ।

“तिमी कसरी यहाँ त?” ऊ सोध्छ । युवकले आफू अहिले यतै बस्ने गरेको बताएर धेरै वर्षअघि देखेकाले मामाले नचिनेको भन्ने तर्क दिएपछि मामा चुप लाग्छन् ।

त्यसपछि मामा भान्जाको बाराणसीमा विभिन्न मन्दिरको भ्रमण हुन्छ । गंगाको किनारामा पुगेपछि ती व्यक्तिलाई गंगाको पवित्र पानीमा डुबुल्की लगाउन मनलाग्छ ।

“बनारस आउने अनि गंगामा ननुहाउने पनि हुन्छ ? जानुस्, जानुस् पानीमा डुबुल्की लगाउनुुस्,” भान्जाले उक्साउँछ ।

मामा पानीमा पस्छन् । तर, पानीमा डुबुल्किएर बाहिर आउँदा भान्जाको अत्तोपत्तो हुँदैन । कम्मरमा बेर्ने एउटा रुमालबाहेक अरू केही नराखी भान्जा बेपत्ता हुन्छ ।

त्यही रुमाल बेरेर उनी यताउता भान्जाको खोजी गर्छन् । तर, हात लाग्यो शून्य हुन्छ ।

प्रख्यात भारतीय साहित्यकार शरद जोशीले २५ वर्ष अघि लेखेको यो कथा सुनाएर आमिर खान भन्छन् – अहिलेका नेता त्यही भान्जाजस्ता हुन् जो चुनाव आएको बेला एकदम चरण परेर म तपाईंको भलो गर्ने तपाईंको प्रतिनिधि हुँ भन्छन् तर जब जनताले आफ्नो बहुमूल्य मत दिएर पठाउँछन् तब पाँच वर्षसम्म जनतालाई तौलियामात्र बेर्न बाध्य बनाएर गायब हुन्छन् ।

आमिर खानमार्फत कहिएको र २५ वर्ष अघि लेखिएको कालजयी भारतीय कथा अहिलेको नेपालको परिस्थितिमा दुरुस्त मिल्दछ । नेताहरू अहिले अनेकरूप रंगमा आएका छन् । हिजोसम्म गाउँमा आउँदा जनता भेट्न आउलान् कि भनेर लुकेर हिँड्ने नेता अहिले घरघर धाउँदै छन् । नोटका बन्डल जनताको आँखा अगाडि घुमाउँदैछन् । तर, जनतालाई के थाहा ? अहिले गरेको खर्च यी नेताका लगानी हुन् । देशलाई गरिब बनाएर अथाह सम्पत्ति कमाउने लालसाले यी नेता अहिले याचक देखिएका हुन् । अन्ततः जनताले यिनको जति खाएका छन् त्यसको सके १०० दोब्बर नभए पनि १० दोब्बर बनाउन यिनीहरू जात्ती भई टोपलेका हुन् ।

यो कथा कुनै एक दलको होइन, सबै दलका सबै नेताको हो । कुनै पनि एउटा नेताको नाम लियो भने यो व्यक्ति फलानो दलको भएको हुनाले हामीलाई बदनाम गर्दैछ भनेर सहजै बेवास्ता गरिदिन्छन् । त्यसैले जनतालाई अझै फलानो फलानो पार्टीको यो यो व्यक्ति सही छ भनेर मिडियाले तोकेर भन्न सक्दैन, भनेको खण्डमा विश्वास पनि गर्दैनन् । तर, हाम्रा नेतालाई वाराणसीको ठगका रूपमा परिणत नगर्ने हो भने जनताले एउटा विषयमा मात्र ध्यान दिए हुन्छ – त्यो हो जनताको कुरामा कसले कति ध्यान दिएको छ ।

जनताको हितको कुराभन्दा अघि अहिले कम्युनिस्ट गठबन्धनको समाजवाद र लोकतान्त्रिक गठबन्धनको खुला समाज केलाई चुन्ने भन्ने तर्क अघि सरेको देखिन्छ ।

वास्तवमा जनतालाई भोलि आउने समाजवाद पनि वीरबलको खिचडी हो भने लोकतान्त्रिक खुलापन पनि जुनको रापमात्र हो । दलका नेता जनमुखी भएनन् र जनताका लागि भन्दा आफू र आफ्नाका लागि देश दोहनमा लागे भने कुनै पनि सिद्धान्तको व्यक्तिले जितेर जनताको जीवनस्तरमा केही फरक पर्दैन । जसलाई जिताए पनि कुनै सिद्धान्तले जित्दैन ।

यहाँ एउटा कुरा प्रष्ट भए हुन्छ, नेपालको संविधान, २०७२ लाई मानेर आएका दलले जुनसुकै विषयमा जति भट्याए पनि लोकतन्त्र, बहुलवाद, जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, बोल्ने र लेख्ने अधिकार आदिमा सोझो तरिकाले आग्लो लगाउन सक्तैन । त्यस्तै संसदीय व्यवस्था, गणतन्त्र, संघीय स्वरूपमा पनि धेरै छलफलको अब कुनै गुन्जायस छैन । नेपाली जनता बारम्बार अहिले प्राप्त अधिकार गुमाएर फेरि यसैको लागि लड्न तयार छैनन् । अब सिसिफसको नियतिबाट नेपाली जनताले मुक्ति पाउनुपर्छ ।

यो नियतिबाट मुक्ति पाउन पुराना दललाई बिर्सने हो त ? अब नयाँ दललाई अगाडी बढाउने बेला आएको हो त ? हैन । दुवै कुरा होइन । अबको समय भनेको पहिले राजनीतिक व्यवस्था र राजनीतिक विचारलाई किनारामा राख्ने हो । जसले आफूलाई राजनीतिक व्यवस्थाका संरक्षक भन्छन् ती पनि सम्पूर्णरूपमा सही हैनन् र जसले यो राजनीतिक व्यवस्थाभन्दा भिन्न व्यवस्थाका परिकल्पना गरेका छन् ती त झन् स्थायित्व र जनअधिकारका दुस्मन हुन् । त्यसैले कुनै एक दललाई चुन्ने अहिलेको समय हुँदै होइन् । अहिले राजनीतिक दललाई खबरदारी गर्ने बेला हो ।

राजनीतिक दललाई खबरदारी तबमात्र हुन्छ जब उसले छानेर पठाएका गलत तत्त्वले धुलो चाट्छन् । अहिलेका ठूला भनिएका सबै दलले गुण्डा, दलाल र शक्तिमा पुगेपछि देशलाई जसरी दोहन गरे पनि हुन्छ भन्ने सोचका व्यक्तिलाई पनि टिकट दिएका छन् । जनताको जिम्मेवारी यस्ता व्यक्तिको जमानत जफत गराइदिने हो ।

तपाई लोकतन्त्रमा विश्वास गर्नुस् वा समाजवाद हुँदै साम्यवादमा पुग्ने कल्पनामा डुब्नुस् माथि भनिएजस्ता व्यक्ति सदनमा आए भने नरभक्षी बाघलाई शासनको अभिभारा सुम्पनुभन्दा अर्को केही फाइदा हुँदैन ।

सबै व्यक्ति को कस्तो भनेर लोकतन्त्रमा चिन्न गाह्रो हुन्छ । तर, चिनिएन भनेर आफूले समर्थन गरेको दललाई मत दिनु पनि पाप हुनसक्छ । जनताले आफ्नो विचारलाई मतदान गर्ने त समानुपातिकमा मात्र हो । प्रत्यक्षमा लड्न भनेर आएका व्यक्तिको त एक एक बानी व्यवहार, उस्को शिक्षा, क्षमता, काम, क्रियाकलाप सबैको लेखाजोखा गर्नुपर्छ । संविधानले समानुपातिक र प्रत्यक्ष व्यवस्था गरेकै यही उद्देश्यका लागि हो ।

उमेदवार कसरी चिन्ने ? सबै मतदाताले गुगल गरेर खोज्न त जान्दैनन्, सबैको इतिहास विकीपिडियामा पनि भेटिँदैन । अहिले कसैको विषयमा अरूलाई सोध्यो भने पनि सबै सही सूचना प्राप्त हुँदैन । अनि सबैको प्रोफाइल लिन्क्डइनमा पनि हुँदैन । तर, प्रायः सबै फेसबुकमा हुनसक्छन् ।

तिनले जनताको समस्यालाई कसरी हेरेका छन्, उनको विरुद्धको असहमतिमा कस्तो प्रतिक्रिया जनाउँछन् र कुन विषयमा कति सस्तो तथा हलुंगो विचार पेस गर्छन् सो हेर्नु पर्छ । कुन नेता राजाले शासन लिएको बेलामा कुन खेमामा थिए, नाकाबन्दीको बेलामा जनताको पक्षमा कति बोल्यो, बाढी र भूकम्पमा के र कसरी सहयोग गर्यो यस्ता विषयमा मनन गर्नुपर्छ ।

निर्वाचनको बेलामा आएर पैसाको खोलो बगाउँछु झै गर्ने त नौटंकी नेता हुन्, यस्तालाई समयमै चिन्नुपर्छ । निर्वाचनको बेलामा सबैलाई चिन्ने, सबैसँग ढोगभेट गर्ने र जस्तोसुकै सेवा गर्छु भन्ने भान पार्ने व्यक्ति र आमिर खानले सुनाएको बाराणसीको ठगमा कुनै फरक छैन । दुवै ठग हुन्, दुवैले आफ्नो सिकारको विश्वास जितेर उसको भोग चढाउने परिपञ्च गर्दैछन् भन्ने बुझ्नु पर्छ । बाह्रखरी

186 total views, 2 views today