चुनावी मुद्दा बनेन सुन बग्ने सुनछहरी

माधवकुमार ओली Thursday, November 16, 2017

रोल्पा, कात्तिक ३० । रोल्पामा उम्मेदवारहरुले नागरिकमाझ आकर्षक विकासका योजनासहित गाउँगाउँमा चुनाव प्रचार गरिरहेका छन् । उनीहरु नागरिकलाई रिझाउन शिक्षा, स्वास्थ्य, कृषिमा आधुनिकीकरण, सडक सुधार गर्ने जस्ता आकर्षक नारासहित गाउँ पसेका छन् । तर बालुवा चाल्दा सुनका साना टुक्राहरु भेटिने लुङ्ग्रीखोलाको मुहान सुनछहरी झरनाको सुन अनुसन्धान गर्ने बारेमा भने उम्मेदवारहरुको कुनै प्रतिवद्धता पत्रमा भेटिदैन ।

वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रत्येक गाउँपालिकासम्म कालोपत्रे सकड, हरेक स्थानीय तहमा क्याम्पस स्थापना गर्ने तथा कम्तिमा १५ सैयाको अस्पताल निर्माण गर्ने जस्ता महत्वाकांक्षी योजनाहरु आफ्नो प्रतिवद्धता पत्रमा समावेश गरेको भएता पनि सुनछहरी लगायतका अन्य जिल्लामा सम्भावन रहेका खनिज पदार्थको उत्खनन् तथा अनुसन्धानमा भने कुनै योजना भएको देखिदैन ।

यस्तै लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार नेपाली कांग्रेसका  नेता एवम् सिंचाई राज्यमन्त्री अमरसिंह पुनले पनि कृषि क्षेत्रको विकासका लुङ्ग्रीमाडी करिडोर लिफ्ट सिंचाई आयोजना, जिल्लामा सम्भावना रहेका कोइला, चुनढुङ्गा, फलाम खानी, तामा खानीको उत्खनन् गर्नेसम्मको योजनाहरु आफ्नो प्राथमिकतामा राखेको भएता पनि लुङ्ग्रीखोलाको बालुवामा पाइने सुनको अनुसन्धान गर्ने तर्फभने ध्यान नदिएको देखिन्छ ।

रोल्पाको सुनछहरी गाउँपालिका–४ (साविकको स्यूरी गाविस)मा पर्ने सुनछहरी झरनाबाट बग्ने लुङ्ग्रीखोलामा बालुवा चाल्दा साना–साना सुनका टुक्राहरु भेटिने स्थानीय बासिन्दाले बताउँदै आएका छन् । स्थानीय बासिन्दाको मागअनुसार लुङ्ग्रीखोलामा गत दुई वर्षअघि चिनियाँ वैज्ञानिकहरुद्धारा मेसिन लिएर अनुसन्धान गरेका थिए । तर उक्त अनुसन्धानबाट के नतिजा आयो भन्ने बारे भने कुनै जानकारी नआएको रोल्पाको सुलिचौरमा व्यापार गर्दै आउनुभएका रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो ।

अहिले जिल्लाबाट निर्वाचित हुने प्रदेश तथा प्रतिनिधिसभाका कुनै पनि उम्मेदवारहरुले आफ्नो घोषणा पत्रमा सुन भेटिएको बारे अनुसन्धान गर्ने योजना समावेश नगरेकोमा स्थानीय बासिन्दा निराश बनेका छन् । घोषणापत्रमा कारणवश छुट्न गएको भएता पनि उक्त सुनखानीको सम्भावनालाई अध्ययन गर्न आफूले पहलगर्ने लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं. १ का प्रदेश सभा सदस्यका उम्मेदवार शेरबहादुर महराले बताउनुभयो ।

54 total views, 1 views today