वर्षमान पुनमाथि निरन्तर आक्रमण प्रयास

राेल्पा अनलाइन Sunday, November 12, 2017

रोल्पा, कात्तिक २६ – माओवादी केन्द्रका नेता तथा रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन अनन्तलाई लक्षित गरी आइतवार रोल्पामा गोली प्रहार भएको छ ।दुई खोली गाउँपालिकाको बाघमारामा आयोजित चुनावी सभामा भाग लिन जाने क्रमम केवरी खोलाको जंगलमा दिउसो अपरिचित व्यक्तिको समूहले गोली हानेको प्रहरीले जनाएको छ । पुनलार्इ लक्षित गरी लगातार फायरिङ भएपछि पुनका सुरक्षाकर्मीले जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

दुईखोली गाउँपालिकाकै राङ्सीमा चुनावी कार्यक्रम सकेर बाघमारातर्फ जाँदै गर्दा भीरबाट ढुंगामुढा समेत भएको थियो । ढुंगामुढापछि सुरक्षाकर्मीले १० राउण्ड फायरिङ गरेका थिए । चुनावी प्रचारमा पुनसँग रोल्पाका बाम  गठबन्धनका अन्य उम्मेदवार तथा नेताहरु पनि थिए । पुन चढेको गाडीलाई लक्षित गरेर शनिबार पनि माडी गाउँपालिकामा एम्बुस अर्थात विद्युतीय धराप विष्फोट गराइएको थियो । एम्बुुसमा परेर पुन चढेको गाडीमा क्षति पुगेको थियो ।

शनिबार एम्बुस थाप्ने तथा आइतबार गोली हान्ने समूह पत्ता लाग्न नसकेको भए पनि प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको संलग्नता रहेको आशंका गरेको छ । पुनकै निर्देशनमा आफ्ना केहि कार्यकर्तालाई रोल्पामा नै प्रहरीले पक्राउ परेको भन्दै नेकपा पुनप्रति आक्रामक छन् ।

69 total views, 1 views today