दसैं युद्धपर्व कि कृषिपर्व

सेतोपाटी Sunday, October 1, 2017

कास्कीको मिया पाटन मुसलमान बहुल गाउँ हो। कुनै समय यहाँ रहमद अली र मोहम्मद मिया भन्ने मुखिया थिए। दसैं बेला वरिपरि गाउँका बाहुन, क्षेत्र, गुरुङ, मगर लगायत सबै जातजातिका मान्छे सगुन लिएर मुखिया भेट्न जान्थे। मुसलमान मुखियाका आँगनमा सगुन चढाएपछि मात्र यहाँका हिन्दुको दसैं पर्व सुरु हुन्थ्यो।

दसैं नै नमनाउने धर्मावलम्बीको गाउँमा प्रचलित यो ‘अनुकरणीय’ परम्परा उद्धृत गर्दै संस्कृतिविद् जगमान गुरुङ भन्छन्, ‘यो कुनै धर्म वा जाति विशेषको चाड होइन, हाम्रो विशिष्ट समन्वयकारी संस्कृति हो जसले सबै जातजातिप्रति उच्च सम्मान झल्काउँछ।’

मिया पाटनको प्रसंग एउटा उदाहरण हो।

यस्ता अनेक विशेषता छन्, जसले दसैं पर्वलाई हिन्दु धर्मको परिधिबाट माथि उठाएर सांस्कृतिक चाडका रूपमा स्थापित गर्छ।

नभए, भारतका हिन्दुले मनाउने ‘दशहरा’ सँग हाम्रो ‘दसैं’ किन भिन्न छ?

उनीहरू हामीजस्तै दुर्गा पूजा त गर्छन्, तर किन हामीजस्तै निधारमा रातो अक्षताको टीका र शिरमा पहेँलो जमरा उन्दैनन्?

किन हामी दसैं बेला रातो, सेतो र कालो टीका सराबरी लगाउँछौं?

किन टीकाको आशिषमा महाभारत र रामायणका पात्रहरूको नाम जप्छौं?

दसैंसँग जोडिएका यी र यस्ता अनेक प्रश्न बोकेर हामीले दुई जना वरिष्ठ संस्कृतिविद्लाई भेट्यौं– तेजेश्वरबाबु ग्वंगः र जगमान गुरुङ। उनीहरूले जे भने, त्यसले दसैंलाई धार्मिक आस्थासँग जोडिएको तर मूल रूपमा हाम्रो सांस्कृतिक चाडका रूपमा बुझ्न सघाउँछ।

सबभन्दा पहिला, दसैंमा लगाइने टीका र जमराबाट सुरु गरौं।

टीका र जमरा हटाइदिने हो भने हाम्रो दसैं र भारतको ‘दशहरा’ बीच खासै भिन्नता रहँदैन। भारतका हिन्दु धर्मावलम्बी दशहरामा नवरात्रिभरि उत्सव गर्छन्, तर विजया दशमीको दिन हामीले जस्तो टीका र जमरा लगाएर ठूलाबडाको आशीर्वाद थाप्दैनन्। धार्मिक चाड मात्र हुँदो हो त हाम्रो दसैं मनाउने आधारभूत तरिकामै यति ठूलो भिन्नता हुँदैनथ्यो।

संस्कृतिविद् जगमान दसैंलाई ‘लडाइँसँग जोडिएको संस्कृति’ मान्छन्।

उनको भनाइमा, दसैं उत्सव लडाइँको पूर्वसन्ध्या हो, जतिबेला कृषक सिपाहीहरू खेतीबाली भित्र्याएर लडाइँमा जाने तयारी गर्छन्। नवरात्रिभरि हातहतियार सरसफाइ र पूजाआजा गर्ने चलनलाई उनी यसैसँग जोड्छन्।

‘झरी थामिएर शरद ऋतु सुरु भएपछि कृषकहरू खेतबारीको कामबाट मुक्त हुन्थे। अनि बालीनाली भित्र्याएर लडाइँको तयारीमा लाग्थे। आफूसँग भएका सबै हतियार सरसफाइ गर्थे र साँध लगाउँथे। त्यसपछि तिनै हतियारको पूजा हुन्थ्यो। विजया दशमीको दिन घटस्थापनामा राखिएको घडाको पानीले हातहतियार अभिषेक गरेपछि निधारमा दही र चामल मुछेको टीका लगाएर हर्षबढाइँका साथ युद्धको अभ्यासमा निस्कने चलन थियो,’ उनी भन्छन्।

दसैं यही युद्ध परम्पराको निरन्तरता हो भन्ने जगमानको तर्क छ।

जगमान गुरूङ

आज पनि फूलपातीको दिन खुकुरी, खुँडाजस्ता पुराना हतियार जम्मा गरेर साँध लगाउने र रातो–सेतो ध्वजाले सिंगारेर दुर्गा देवीसँगै स्थापना गर्ने चलन छँदैछ। यो विधिलाई ‘दुर्गा जगाउने’ भनिन्छ। दुर्गा आफैंमा ‘शक्तिको रूप’ हो।

भोलिपल्ट अष्टमीको दिन झुल्के घाससँगै खसी–बोका बलि दिइन्छ। कहीँ नगराको आवाज त कहीँ मालसिरी धुनबीच दसैं उद्घोष हुन्छ। बलि दिने चलनलाई जगमान ‘शक्तिको उपासना’ सँग जोड्छन्। नगरा र मालसिरी धुन भने सेनाको हौसला बढाउँदै चारै दिशामा युद्धको डंका पिट्न बजाइएको उनको भनाइ छ।

‘दसैं मनाउने विधिले नै लडाइँको झल्को दिन्छ,’ उनी भन्छन्, ‘यस्तो विधि ठाउँअनुसार फरक भए पनि सबैतिर लडाइँकै अनुभूति हुन्छ।’

उनले काठमाडौं उपत्यकामा गुञ्जिने मालसिरी धुन र यहाँका नेवारले मनाउने दसैं परम्पराको उदाहरण दिए।

अष्टमीको दिन मालसिरी धुनसहित कोतमा गएर मार हान्ने चलन छ। कुनै समय काठमाडौंका नेवार शिरमा सेतो फेटा गुथेर सेतै जामामा खुँडा नचाउँदै नगर परिक्रमा गर्थे। ‘यो एक किसिमले युद्धकै तयारीको झल्को दिने रीत हो,’ उनले भने।

काठमाडौं उपत्यकामा मात्र होइन, यस्तो चलन देशका अन्य ठाउँमा पनि छ।

गण्डक क्षेत्रमा गुरुङ, मगर लगायत जनजातिहरू खुँडा र खुकुरी बोकेर परिक्रमामा निस्कन्छन्। कुनै पनि जातिका मान्छेलाई त्यसमा भाग लिन रोकतोक हुन्न। ‘सराप खेलेको’ भनिने यो रीतले युद्ध अभ्यासको झल्को दिने जगमानको भनाइ छ।

दसैंको टीकालाई पनि उनी लडाइँसँगै जोड्छन्।

उतिबेला लडाइँमा जानुअघि पहाडका देउराली वा देवीथानमा मार हान्ने चलन थियो। जनावरको घाँटीबाट झर्ने रगत थालमा तपतप जम्मा गरिन्थ्यो। र, त्यसैलाई चामलसँग मुछेर ‘शक्तिकी देवीको प्रसाद’ का रूपमा टीका लगाइन्थ्यो। यहाँ चामललाई ‘नाश नहुने अन्न’ को प्रतीकका रूपमा प्रयोग गरिएको उनको भनाइ छ।

‘क्षत भनेको नाश हो, अक्षत भनेको नाश नहुने,’ उनले भने, ‘यही नाश नहुने अन्नका रूपमा चामललाई अक्षता भनी टीका लगाएको हुनसक्छ।’

यसरी कुनै बेला रगतमा मुछेको अक्षताको टीका लगाएर आएका हामीले एकैचोटि अबिरमा चामल मुछेर रातो टीका लगाउन थालेका होइनौं। यसबीच गुरुङ, मगर, राई, लिम्बू, तामाङ, नेवार लगायत जनजातिदेखि खसआर्यसम्मले सेतो टीका लगाउने गरेको जगमानको भनाइ छ।

रातो र सेतो टीकाबीचको विवाद नै उनी निरर्थक मान्छन्। ‘यो नचाहिँदो विवाद हो। आज हामी जनजातिले मात्र सेतो टीका लगाउँछन् भन्छौं। रातो टीका लगाउन थालिसकेका जनजाति पनि आफ्नो पहिचान भन्दै सेतोमै फर्केका छन्। वास्तवमा, जनजाति मात्र होइन, खसआर्यले लगाउने भनेको पनि सेतै टीका हो,’ उनले भने।

अक्षतामा मुछिने अबिर नेपालको आफ्नो उत्पादन नभएकाले रातो टीका यहाँको मौलिक परम्परा हुनै नसक्ने उनको तर्क छ।

‘आज त हामी भारतबाट अबिर आयात गर्छौं भने उतिबेला यहाँ कहाँ पाएर हुने?’ उनले भने, ‘बरु काठमाडौं उपत्यकाका नेवारले व्यापारका क्रममा अबिर भित्र्याएर दसैं टीकामा समावेश गरेका हुनसक्छन्।’

विस्तारै भारतीय प्रभाव बढेर रातो टीका लगाउने चलन झ्यांगिदै गएको हुनसक्ने उनको भनाइ छ। यहाँनिर बाहुन–क्षत्री कसरी सेतोबाट रातो टीकामा सरे तर जनजातिहरू सेतोमै अडिरहे भन्नेमा उनको आफ्नै तर्क छ।

बाहुन–क्षत्रीमा पहिल्यैदेखि बसाइसराइँ तीव्र थियो। त्यही सिलसिलामा उनीहरूले अबिर प्रयोग गर्न पाए।

‘शृंगारिक हिसाबले पनि सेतोभन्दा अबिर मुछेको रातो टीका राम्रो देखिएपछि यसको प्रभाव बढ्दै गएको हुनसक्छ,’ उनले भने, ‘जनजातिहरू भने पहाडतिरै बसे। अबिर प्रयोग गर्न उनीहरूले धेरै ओहोरदोहोर गर्नुपर्थ्यो। अन्ततः सेतोलाई नै आफ्नो पहिचान ठान्न थाले।’

यहाँनिर जगमान गुरुङ र अर्का संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःको भनाइ आपसमा केही बाझिन्छन्, केही मिल्छन्।

तेजेश्वरबाबु टीका संस्कारलाई युद्धको तयारीभन्दा कृषिसँग जोडिएको विधि मान्छन्।

तेजेश्वरबाबु ग्वंगः

‘यो चाड हाम्रो खेतीपातीसँग जोडिएको छ। नेपाल त्यसै पनि लहलहाउँदो सुनौला बाला फल्ने ठाउँ हो। शरद ऋतुको आगमनसँगै भित्र्याएको नयाँ बालीलाई टीका साइतमा पूजा गर्ने चलन अहिले पनि छ। चामलको टीका लगाउने विधि यही चलनसँग जोडिएको छ,’ उनले भने।

उनले लक्ष्मीपूजाको दिन धान, गहुँ, मकै, भटमास, केराउ लगायत सबै किसिमका अन्न माटोका छुट्टाछुट्टै भाँडामा चाङ लगाएर पूजा गर्ने विधिको उदाहरण दिए। भने, ‘संस्कृतिको आधारभूत कुरा कृषि नै हो। मान्छेले आफ्नो जीविका कसरी भइरहेको छ, त्यसैको उत्सव मनाउने हो, संसारभरि नै संस्कृतिको विकास यसैगरी हुन्छ।’

घरभित्र जमरा उमार्नुलाई त उनी सानोतिनो कृषि कर्मसँगै दाँज्छन्। हाम्रो जीविकामा कृषिको कति धेरै महत्व छ भनेर यसले झल्काउने उनको भनाइ छ। जमरा छोपेर पहेँलो पार्नुलाई उनी शृंगारका रूपमा लिन्छन्।

जमराको सन्दर्भमा जगमानको विचार पनि फरक छैन।

‘जौ तागतिलो अन्न हो, त्यसैले माटोको पूर्वपरीक्षण र बीउ कति उब्जाउ छ भनेर अड्कल काट्न जमरा रोप्ने चलन सुरु भएको हुनसक्छ,’ उनले भने, ‘गाउँघरतिर जहाँ जौ हुँदैन, त्यहाँ मकैको जमरा हाल्ने चलन छँदैछ।’

रातो र सेतो टीका विवादमा पनि तेजेश्वरबाबुको तर्क जगमानसँग मिल्दैन।

उनी यी दुईथरी टीका लगाउने चलनलाई समुदायको वंश परम्परासँग जोड्छन्। ‘सूर्यको प्रकाशलाई पुज्ने सूर्यवंशीहरू त्यसको तातो र न्यानो किरणसँग मिल्ने रातो टीका लगाउँछन्, जबकि चन्द्रमालाई पुज्ने चन्द्रवंशीहरू त्यसको शितल र सेतो किरणजस्तै सेतो टीका लगाउँछन्,’ उनले भने।

मल्लकालसम्म काठमाडौं उपत्यकाका नेवारमै सेतो टीका लगाउने चलन रहेको उनले बताए।

‘काठमाडौं उपत्यकामा पछिसम्मै सेतो टीका लगाउने चलन थियो, उता किराँतहरू पनि सेतै लगाउँथे। यी सबै चन्द्रवंशीय हुन्,’ तेजेश्वरबाबुले भने, ‘गोरखाका सूर्यवंशी राजा पृथ्वीनारायण शाह भने रातो टीका लगाउँथे। गण्डक क्षेत्रतिर रातैको चलन थियो। राज्य विस्तार क्रममा काठमाडौं उपत्यका जितेपछि पृथ्वीनारायण र उनका भाइभारदारले आफूसँगै रातो टीका लिएर आए। यसले काठमाडौं उपत्यकाबाट विस्तारै सेतो टीका लगाउने चलनै हरायो।’

तेजेश्वरबाबु अझै पनि आफ्नो परिवारमा सेतो टीका लगाउने चलन रहेको बताउँछन्। उनको भनाइ छ, ‘रातो टीका त हामीले अरूको देखासिकी लगाउन थालेका हौं।’

टीका परम्पराकै कुरा गर्दा नेवार संस्कृतिमा रातोसँगै कालो टीका लगाउने चलन छ, जसलाई ‘मोहिनी’ भनिन्छ। नेवार भाषामा दसैंलाई नै मोहिनी भन्ने गरिन्छ। दसैंको पूजाकोठाभित्र सलिँचामा दियो बालेर छोपेपछि धुवाँसिन्छ। त्यही धुवाँसिएको भाग झिकेर मोहिनी तयार पारिन्छ।

संस्कृतिविद् ग्वंगः कालो टीका लगाउनुका दुइटा कारण देख्छन्।

पहिलो, सेतो वा रातो टीकामुनि कालो लगाउँदा मान्छेको सुन्दरता निखारिन्छ। ‘मोहिनी’ शब्द नै ‘मोहनी’ बाट आएको उनको भनाइ छ।

दोस्रो, जसरी केटाकेटीलाई घरबाहिर निकाल्दा नकारात्मक प्रभाव नपरोस्, भूतप्रेत नलागोस् भनेर कालो टीका लगाइदिने चलन छ, मोहिनीलाई त्यस्तै विकृति, रोगव्याधि लगायत नकारात्मक प्रभावबाट बचाउने सुरक्षा कवचका रूपमा उनी लिन्छन्।

जगमान गुरुङले तेस्रो कारण पनि औंल्याए।

‘काठमाडौं तान्त्रिक सहर हो। यहाँको नेवारी संस्कृति भनेकै तन्त्रप्रधान छ,’ उनले भने, ‘तन्त्रविद्यामा कालो टीकाको ठूलो भूमिका हुन्छ। मोहिनी त्यही तान्त्रिक विधिबाट आएको टीका हुनसक्छ।’

मोहिनीमाथि लगाइने रातो टीकालाई भने उनले विजयको प्रतीककै रूपमा लिए।

दसैंसँग जोडिएको हाम्रो अर्को जिज्ञासा थियो– टीकाको आशिषमा महाभारत र रामायणका पात्रको नाम हामी किन जप्छौं?

के तपाईंलाई टीकामा आशिष दिँदा के–के भनिन्छ थाहा छ?

आयुर द्रोण सुते श्रेयम दशरथे, शत्रुक क्षेयम रघवे,
ऐश्वर्यम् नहुशे, गतिस्च पवने, मानन्च दुर्योधने
सौर्यम शान्त नवे, बलम हलधरे, सत्यस्च कुन्तीसुते,
विज्ञान वदिुरे, भवन्तु भवताम्, कीर्तिस्च नारायणे!

अर्थात्,
आयुर द्रोण सुते (द्रोणका छोरा अश्वत्थामाजस्तै लामो आयु होस्)
श्रेयम दशरथे (दशरथको जस्तै श्रेय पाइयोस्)
शत्रुक क्षेयम रघवे (रामचन्द्रले जस्तै शत्रु नाश गर्न सकियोस्)
ऐश्वर्यम् नहुशे (नहुश राजाको जस्तै ऐश्वर्य होस्)
गतिस्च पवने (पवनको जस्तो गति होस्)
मानन्च दुर्योधने (दुर्योधनको जस्तो मानमर्यादा कमाइयोस्)
सौर्यम शान्त नवे (सूर्यका छोरा कर्णजस्तो दानी होओस्)
बलम हलधरे (हलोधारी बलरामजस्तै बलवान् होओस्)
सत्यस्च कुन्तीसुते (कुन्तीका छोराले जस्तै सत्य बोल्नू)
विज्ञान विदुरे, भवन्तु भबताम् (विदुरजस्तै ज्ञान-विज्ञान, शास्त्र बुझेको होओस्)
कीर्तिस्च नारायणे (भगवान नारायणको जस्तै कीर्ति हासिल गर्नू)

संस्कृतिविद् गुरुङ यो आशीर्वाद युद्धसँगै सम्बन्धित रहेको बताउँछन्।

लडाइँमा जाने योद्धामा रामायण र महाभारतकालीन पात्रझैं शक्ति आओस् र त्यसरी नै शत्रु पराजित गर्न सकोस् भनी कामना गर्ने अभिप्रायले यस्तो जपना गरिएको गुरुङको भनाइ छ।

‘ती लडाइँमा सिंगो राज्य नै रित्तिएको थियो भन्ने हामीले पढेका छौं। त्यतिबेला युद्धको धङधङीले धेरै मान्छेको ज्यान लियो, धेरै विधवा भए। कतिले आफ्ना छोराछोरी गुमाए त कतिले आमाबाबु। त्यत्रो मानवीय विनाशले परिवार मात्र होइन, सिंगो राष्ट्रलाई नै विच्छृखंल बनाएको थियो। त्यही स्थिति फेरि नदोहोरिओस् भनेर रामायण र महाभारतकालीन युद्धका पात्रजस्तै शक्ति आर्जन होस् भनी नाम जपेको हुनसक्छ,’ गुरुङले भने।

मानसिक रूपले निराश मान्छेमा यस्तो आशिषले हौसला र उत्साह थप्ने हुँदा आजसम्म निरन्तरता पाइरहेको उनको भनाइ छ।

हाम्रो दसैंको अर्को विशेषता दुर्गा पूजा पनि हो। भारतमा बंगालीहरू दुर्गा पूजा गर्छन्, अन्यत्र भने ‘असुरका राजा’ रावणमाथि रामको विजयोत्सवका रूपमा ‘दशहरा’ मनाइन्छ। यस क्रममा ठाउँठाउँमा पण्डाल लगाएर रावणको पुत्ला दहन गर्ने चलन छ।

जगमान रावणको पुत्ला दहनलाई नेपालको मौलिक संस्कृति मान्दैनन्।

उनका अनुसार यो भारतको गंगा किनारका मैदानमा विकसित संस्कृति हो, जबकि यहाँको दुर्गा पूजालाई उनी नेपालको पहाडी भेगमा विकास भएको मान्छन्।

‘पुत्ला दहन आयातीत संस्कृति हो,’ उनले भने, ‘यसलाई बसाइसराइँका क्रममा बाहुन–क्षत्रीहरूलै नै नेपाल ल्याएका हुन्।’

आज भारतसँग सीमा जोडिएको तराई भेगमा रावणको पुत्ला जलाएर दसैं उत्सव मनाइन्छ। केही समययता काठमाडौंभित्रै पनि ठाउँ–ठाउँमा पण्डाल लगाएर रावणको पुत्ला दहन हुन थालेको हामीले देखेका छौं।

यसरी युद्धसँग जोडिएको दसैं संस्कृतिको थालनी र दुर्गा पूजाको सुरुआत पहाडी जनजातिले गरेका हुन् भन्ने गुरुङको तर्क छ।

उनको यो तर्कको आधार पनि दसैंको लडाइँ–सम्बन्ध नै हो।

उतिबेला सेनामा अग्रपंक्तिमा रहेर लडाइँ गर्ने भनेका पहाडी जनजाति हुन्। युद्ध मैदानमा जानुअघि बलि दिँदा मार हान्ने जिम्मा जनजातिलाई दिइन्थ्यो। उनीहरू सुरो स्वभावका भएकैले यस्तो जिम्मेवारी दिइएको गुरुङको भनाइ छ।

यही तर्कमा टेकेर उनी भन्छन्, ‘दसैं भनेको जनजातिहरूकै संस्कृति हो, बलि हान्नेदेखि अक्षतामा रगत मुछेर टीका लगाउने चलन जनजातिबाटै सुरु भएको हो। अहिले आएर मौलिकता खोज्ने नाममा दसैंलाई बाहुन–क्षत्रीको चाड भनेर आफू बाहिर बस्नु हाम्रो आफ्नै पुर्खाको शानको अपव्याख्या हो।’

‘हाम्रो दसैं त्यसै विशिष्ट छ, जसले सबै जातजातिप्रति उच्च सम्मान झल्काउँछ,’ जगमानले भने।

तेजेश्वरबाबु पनि दसैं संस्कृतिलाई नेपालीहरूको ‘स्वत्व’ (आफ्नोपन) मान्छन्।

‘संसारका सबै मान्छेले आफ्नो देशको वातावरण र पर्यावरणअनुसार संस्कृति अपनाएका हुन्छन्। हरेक संस्कृतिको आफ्नै लहनसहन हुन्छ। दसैंमा टीका र जमरा लगाउने चलन हाम्रो स्वत्व भएको मौलिक लहनसहन हो,’ उनले भने।

105 total views, 1 views today