संस्कृतिविद्को नजरमा दशैं: चार पुस्तापछि हराउने जोखिम देखिन थाल्यो

अनलाइनखबर Sunday, October 1, 2017

एक समय थियो दशैं आउन लागेको संकेत प्रकृतिले नै दिन्थ्यो । बिहान हुस्सु या कुहिरो लाग्थ्यो । आकाशका बादल खेलिरहेजस्तो देखिन्थ्यो ।

गाउँ र शहर दुवैमा मेला लाग्थे । जताततै लिंगे र रोटे पिङको रौनक हुन्थ्यो । परिवारमाझ खुशीयाली साटासाटको माहोल नै बेग्लै ।

 

छत माथिबाट चंगा उडाएर रमाइलो गर्नेहरुको दृष्य कम्ता रमाइलो देखिँदैनथ्यो । लिपपोत गरेर चिटिक्क बनाइएका घर छाड्न मन कहाँ मान्थ्यो र !

यी सबै दृष्य विस्तारै कम देखिन थालेका छन् ।

नेवार समुदायको कुशुले जातिले मालश्रीको धुनमा भाका हाल्दा साँच्चै दशैंको आभास मिल्थ्यो । पेटीमा बसेर धुन बजाउनेहरुलाई घरधनीले दक्षिणा दिएपछि आशिकको वर्षा नै गर्थे, त्यस्ता टोलीले ।

घर आँगनमा मानिस होइन, दशैं नाचिरहेझैं लाग्थ्यो । वर्षमा एक पटक दशैंमै नयाँ लुगा फेर्ने चलन थियो ।

अहिलेका दशैं फरक हुन थालेका छन् । नयाँ लुगा होइन, नयाँ ब्रान्डका रक्सी, मासुका परिकार र जुवा खेलेर चाडबाड मनाउने चलन बढेको छ । नेपालीपन र मौलिकता हराउँदै गएको छ, चाडबाडमा । मालश्री धुन अब रेडियो, टेलिभिजन र युट्युबको मात्र पि्रय बन्न थालेको छ ।

घरनजिकका खेतमा फलेको धान, चामल २/४ पाथी संकलन गरेर राखिन्थ्यो, गाउँघरमा । अहिले त खेतबारी बाँझो छन्, धान, चामल विदेशबाट आयात गर्नुपर्छ ।

दशैं भनेकै मान्यजनको आशिर्वाद लिने अवसर हो । सद्भाव, स्नेह र श्रद्धा मौलाउने समय पनि हो । वर्षदिनभरि जति नै दुष्मन भए पनि दशैंमा एकै ठाउँ जम्मा भएर दाजुभाइले बा-आमाबाट टीका र जमरा ग्रहण गर्ने दिन पनि दशैंबाहेकमा जुर्न मुस्किल पथ्र्यो ।

अब त सोह्र श्राद्धमा पितृलाई सम्भिmन आवश्यक नठान्ने सन्तान देखिन थालेका छन् । नयाँ पुस्ताले अनुकरण नगर्दा मौलिकता हराउने जोखिम देखिन थालिसकेको छ । नयाँ पुस्ता पाश्चत्य संस्कृतिमा अभ्यस्थ हुन थालेको छ ।

‘अभिभावक नदेखिँदा संस्कृति विलुप्त बन्दै गएको छ,’ संस्कृतिविद् विजयसागर श्रेष्ठ भन्छन् । उनको बुझाइमा मौलिक संस्कृति गाउँघरमा केही प्रतिशत मात्र बाँकी छ । र, शहर बजारबाट हराउँदै गएको छ ।

मौलिक संस्कृतिको रक्षा गर्ने दायित्व राज्यको हो । तर, राज्य आफैं निरिह देखिन थालेको छ ।

संस्कतिविद् श्रेष्ठ भन्छन्, ‘नयाँ पुस्ताले संस्कृति अनुकरण नगर्दा र राज्यले पनि यसको रक्षा गर्न चासो नदेखाएमा बढीमा चार पुस्तापछि दशैंको रौनकता मात्र होइन, नेपाली संस्कृति नै विलय हुने जोखिम देखिन थालेको छ ।’

विगत फर्काउन नसकिए पनि दशैंमा सद्भाव, स्नेह र श्रद्धा मात्र मौलाउने वातावरण कायम रहे मौलिकता जोगाउन सकिने उनी बताउँछन् ।

95 total views, 1 views today