जिसस रोल्पाद्धारा ९५ प्रतिशत बजेट खर्च

रोल्पा अनलाइन Wednesday, July 19, 2017

रोल्पा, साउन ४ । जिल्ला समन्वय समिति (जिसस) रोल्पाले आर्थिक वर्ष २०७३÷७४ मा आफ्नो कूल बजेट मध्ये ९५ दशमलव ७ प्रतिशत खर्च गरेको जनाएको छ ।


जिसस रोल्पाले बुधवार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी बजेट कार्यान्वयन बारे जानकारी गराएको हो । कार्यक्रममा स्थानीय विकास अधिकारी सुशील वैद्यले कूल एक अर्व ५८ करोड ९७ लाख १० हजार बजेट निकासा भएकोमा विभिन्न शिर्षकमा गरी एक अर्व ५३ करोड ३७ लाख २४ हजार खर्च भएको जानकारी दिनुभयो । कार्यालयले निकासा गरेको कूल बजेटमा ५ करोड ५९ लाख ८४ हजार फ्रिज भएको वैद्यले बताउनुभयो । बजेट फ्रिज हुन नदिने उद्देश्यले सञ्चार माध्यम तथा विभिन्न माध्यमबाट उपभोक्ताहरुलाई समयमै योजना सम्झौता गरी कार्य सम्पन्न गर्न ताकेता गरेकोले अघिल्लो वर्षको तुलनामा उक्त आर्थिक वर्षमा सन्तोषजनक काम भएको जिसस रोल्पाले बताएको छ ।
गत आर्थिक वर्षमा तत्कालिन जिल्ला विकास समितिको कार्यालय रोल्पाले ३ सय योजना सञ्चालन गरेको थियो । ति योजना मध्ये अधिकांश सम्झौता भई कार्य सम्पन्न भएका छन् । रोल्पामा सञ्चालित योजना मध्ये स्थानीयस्तरका सडक पुल कार्यक्रमको एक करोड ४० लाख ८१ हजार ९ सय, साना सिँचाई, नदि नियन्त्रण तथा पूर्वाधार कार्यक्रमको ९२ लाख ६२ हजार ७ सय ६७ रुपैयाँ, आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने सडक योजनाको ६६ लाख, स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रमको ५७ लाख ३४ हजार रकम फ्रिज भएको जिसस रोल्पाले जनाएको छ ।

कुन योजनाबाट कति बजेट फ्रिज भयो पूर्ण पाठ हेर्नुहोस  ः—

586 total views, 1 views today