रोल्पामा २०४ औं भानु जयन्ती मनाइयो

रोल्पा अनलाइन Friday, July 14, 2017

रोल्पा, असार २९ – रोल्पाको लिबाङमा २०४ औं भानु जयन्ती मनाइएको छ । यहाँका ललित साहित्य परिषद्, रोल्पा र राप्ती साहित्य परिषद्, जिल्ला शाखा, रोल्पाको संयुक्त आयोजनामा ‘अभिनन्दन, पुरस्कार वितरण, कृति लोकार्पण तथा रचना वाचन’ कार्यक्रम सम्पन्न भयो ।
रोल्पा नगरपालिकाका नगर प्रमुख एवम् कवि पुरण क्षेत्रीको प्रमुख आतिथ्यता तथा अग्रज साहित्यकार डी.बी. टुहुरोको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा ललितले साहित्यकार क्षितिज मगरलाई अभिनन्दन ग¥यो । नेपाली भाषा साहित्यमा कलम चलाउने रोल्पा जिल्लाका एक जना स्रष्टालाई ललितले हरेक वर्षको भानुजयन्तीमा अभिनन्दन गर्दै आएको छ । जेल्बाङ, रोल्पामा जन्मनुभएका क्षितिजको ‘आस्थाका पर्खालहरू’ संयुक्त कवितासङ्ग्रह(२०६२), ‘सुनछहरीको ऐनामा’ कथासङ्ग्रह(२०६४) र ‘गण्डक अभियान’ संस्मरणसङ्ग्रह(२०६८) रहेका छन् । ‘दलसुर स्मृति कथा पुरस्कार’का संस्थापक क्षितिज राप्ती साहित्य परिषद्द्वारा प्रदान गरिने ‘दिलसरीदल साहित्य पुरस्कार(२०६९)’ र ‘कृष्ण सेन इच्छुक पुरस्कार(२०७२)बाट समेत पुरस्कृत भइसक्नुभएको छ ।
सोही अवसरमा राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाले यस वर्षको ‘सरुपाचित्र नारी प्रतिभा पुरस्कार’ मिरुलकी गायत्री रोकामगरलाई प्रदान ग¥यो । भाबाङ निबासी साहित्यकार गीता निर्दोषीद्वारा आफ्ना मातापिताको नामबाट स्थापित उक्तपुरस्कार जिल्लामा रहेर कलम चलाउने एक उत्कृष्ट नारी प्रतिभालाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिन्छ । पुरस्कृत रोकामगरका हालसम्म ‘अङ्कुराए पल्लवी’ संयुक्त गजलसङ्ग्रह(२०६९), ‘अमर साइनो’ संयुक्त गजलसङ्ग्रह(२०७२) र ‘उड्ने चरी’ मुक्तकसङ्ग्रह(२०७३) प्रकाशित छन् ।
कार्यक्रममा चन्द्रज्योति सुवेदीले पुरस्कृत स्रष्टा रोकामगरको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो भने अभिनन्दित स्रष्टा मगरको व्यक्तित्वमाथि नवीन लोचनमगरले प्रकाश पार्नुभएको थियो ।
त्यस्तै सोही कार्यक्रममा ललितको नियमित कार्यक्रम एकल रचना वाचनको १ देखि २५ श्रृंखलासम्मका एकल रचना वाचनका रचनाहरुको संयुक्त कृति ‘पच्चीस’ सार्वजनिक गरिएको छ । प्रमुख अतिथि क्षेत्री र विशिष्ट अतिथि डी.बी. टुहुरोले संयुक्त रुपमा उक्त कृति विमोचन गर्नुभयो ।
ललितले प्रकाशन गरेको ‘पच्चीस’ भित्र खेमराज शर्मा, डी.बी. टुहुरो, सीता शर्मा, रमेश सुवेदी, टेकेन्द्र जी.एम., गायत्री घर्तीमगर, डा. कृष्णराज डी.सी., चाङ चिराग, कुलानन्द गिरी, कविता उपाध्याय, लोक आलोक, नवीन विभास, नारायणप्रसाद सुवेदी, भावेश भुमरी, के.बी. विरही, क्षितिज मगर, कुल अवशेष, गीता निर्दोषी, देवी गुरुङ, दीपक शर्मा ‘समीर’, विष्णु सन्न्यास, विमला डाँगी ‘विकलता’, वीरबहादुर केसी ‘अपराजय’, तारादेवी सुनुवार र नारायण आचार्यका गीत, कविता, गजल, मुक्तकहरु समावेश गरिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि क्षेत्री, विशिष्ट अतिथि टुहुरो लगायत अभिनन्दित स्रष्टा क्षितिज मगर, पुरस्कृत स्रष्टा गायत्री रोकामगर, युगदर्पण साहित्यिक समाज, घर्तीगाउँका सचिव अमृत भावुक मगर लगायतले बोल्नुभयो भने व्योम जी अवतार र महेश घर्तीमगर ‘आरेम’ले कविता वाचन गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखाका रोल्पाका अध्यक्ष कविता उपाध्यायले स्वागत मन्तव्य दिनुभयो भने सहभागी सबैलाई ललितका महासचिव नारायण जिज्ञासुले धन्यवाद मन्तव्य दिनुभयो ।
ललितका अध्यक्ष लोक आलोकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राप्तीका सचिव चाहना शर्माले गर्नुभएको थियो ।

297 total views, 1 views today