ट्रयाक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु एक घाइते

माधवकुमार ओली Saturday, December 3, 2016

रोल्पा, मंसिर १८ । रोल्पाको कोटगाउँमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक जना बालिकाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
कोटगाउँ–१ माडीचौरबाट सोही गाविसकै ४ नम्बर वडाको मिलनचोकमा घर बनाउने काठ लगेर गइरहेको रा १ त १०९९ नम्बरको ट्रयाक्टर कोटगाउँ–१ रम्जा भन्नेठाउँमा दुर्घटना भएको थियो ।

ट्रयाक्टर उकालोमा अनियन्त्रित भई पल्टिदा ट्रयाक्टरमा भएको काठले च्यापेर त्यसमा सवार कोटगाउँ–४ की १४ वर्षिया सरिता विकको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सोही ठाउँकै १७ वर्षिया यमसरा केसी घाइते भएका छन् । मिलमा मकै पिसाउन आएका उनीहरु ट्रयाक्टरमा चढेर घर फर्कदै थिए । दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा जिल्ला अस्पताल रेउघा रोल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशव बहादुर बस्नेतले जानकारी दिनुभयो । ट्रयाक्टरका चालक जंकोट गाविस ७ का २२ वर्षका मिलन डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 321 total views,  1 views today