राजनीतिक खिचातानीले विव्यस पुनःगठनमा ढिलाइ

सन्तोष शर्मा Wednesday, November 23, 2016

रोल्पा (होलेरी), मंसिर ८ । महेन्द्र माबि होलेरी रोल्पामा लामो समय बितिसक्दा समेत विब्यस गठन हुन सकेको छैन । राजनीतिक खिचातानीका कारण हालसम्म विव्यस गठन नहुँदा विद्यालय समितिविहीन जस्तै हुन पुगेको छ । गत असोजमा जिल्ला शिक्षा कार्यालयले यथाशीघ्र विव्यस गठन गर्नका लागि पत्राचार गरेपछि विद्यालयले असोज ९ गते अभिभावक भेला बोलाएको थियो । उक्त मितिमा भेला पनि भयो तर उक्त दिन समिति गठन हुन नसकेपछि होलेरी क्षेत्रका मुख्य राजनैतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताले एक हप्ताभित्रै सहमति जुटाउने र सर्बसहमतिको विव्यस गठन गर्ने भन्दै समय मागेका थिए । तर हाल कयौं हप्ता बितिसक्दासमेत सहमतिको प्रयास भइरहेको मात्रै भन्ने सुनिन्छ तर सहमति कहिलेसम्म जुट्ने हो र कहिले समिति गठन हुने भन्नेबारे अन्योल रहेको छ । विब्यस गठनमा देखिएको अन्योलका बारेमा हामीले यस क्षेत्रमा क्रियाशील राजनीतिक दलका नेतृत्वसँग प्रतिक्रिया लिएका छौं ।
नेपाली कांग्रेसका देबेन्द्र बोहराले सहमतिको प्रयास भइरहेको भएपनि सहमतिका लागी एमाले र माओवादी अलि आलटाल गर्न खोजेको बताए । सहमतिका लागि हामीले भनेकै हुनुपर्छ भन्ने छैन उनले भने– ‘तर विद्यालय झेनाममा रहेको र अहिलेसम्म झेनामका अभिभावकले नेतृत्वको जिम्मा नलिएका कारण झेनामकै अभिभावकको नेतृत्वमा समिति गठन हुनुपर्नेमा हामी छौं तर एमाले र माओवादीले भने राम्रो मान्छे गर्न सक्ने मान्छे मात्रै भन्छ तर यो भनेर भन्न सकिरहेको छैन ।’ पूर्व विब्यस अध्यक्ष समेत रहेका बोहराले आफू अध्यक्ष हँुदाको समयलाई सम्झँदै भने– ‘विगतमा म अध्यक्ष हुँदा पनि राजनीतिक कारण मलाई सहयोग गरेनन्, अहिलेका अध्यक्ष लोकबहादुर वली पनि विवाद हुँदाहुँदै अध्यक्ष भएका कारण केही नयाँ हुन सकेन, तेसैले सबैलाइ मिलाएर लैजानुपर्छ भन्ने पक्षमा म छु , यो या त्यो भन्ने भन्दा पनि राम्रो काम गर्न सक्ने झेनामवासी जुनसुकै पार्टीको भए पनि त्यसलाई नेतृत्व दिनुपर्छ भन्ने पक्षमा हामी छौं, राजनीतिक कारण विद्यालयको भविष्य विगार्न हँुदैन अब छिट्टै सहमति हुन्छ, केही दिनमै नयाँ नेतृत्व आउँछ ।’
त्यस्तै आजसम्मको यो अन्योलको मुख्य कारण नेपाली कांग्रेस रहेको एमालेका जिल्ला उपाध्यक्ष एवं स्थानीय बालाराम बुढाले आरोप लगाएका छन् । उनले भने– ‘हामीले त अनुभवी परिपक्वता एवं पूर्व गाविस अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका टेकबहादुर बस्नेतको नाम अघि सारेकै छौ तर बस्नेत स्वयंले मान्नुहुन्न अनि अर्को विकल्पमा एमालेका यही विद्यालयका पूर्व अध्यक्ष समेत रहेका रुद्रमणिजी को पनि नाम अघि सारेकै हो त, कांगे्रसलाई दिँदा पनि नलिने, दिनुस् भन्दा पनि हामी बाहेक अरु हुँदैन भन्ने यो त सहमति हुने कुरै छैन । हामीले अनुभवी, परिपक्व, विद्यालयलाई हाँक्न सक्ने, सही दिशातर्फ लैजान सक्ने त्यस्तो व्यक्ति पो लिने हो, भर्खरका साथीहरु त उहाहरुसँग बसेर एक कार्यकाल अनुभव लिनुहुन्छ ।’ उनले थपे– कांग्रेसले अनुभबै नभएका दिलमणजीलाई अगाडी सारिरहेको छ, एमालेले कुनै पनि हालतमा स्वीकार्दैन यदि कांग्रेसले अनुभवी हामीले सोचेअनुरुपको मान्छे उभ्याउन सक्यो भने हाम्रो सहमति छ, हैन दिलमन नै हो भनेर अगाडि बड्नुहुन्छ भने हामीलाइ स्वीकार्य छैन । अन्ततः चुनावी प्रक्रियामा नै हो । सकभर सहमतिको पक्षमै छौं, छिट्टै छलफल हुन्छ यदि त्योबाट पनि निष्कर्षमा पुग्न सकिएन भने छिट्टै चुनाब हुन्छ अनि निकास आउछ ।
त्यस्तै नेकमा माओबादी केन्द्रका गोविन्द पुन नजरले सहमतिका लागि समय मागेको भएपनि सहमतिका लागि सबै पार्टी एक ठाउँमा हुन नचाहेको बताए । उनले सामान्य छलफल भए पनि त्यो निष्कर्षमा नपुगेको र यो बाहिर बाहिरको छलफलले निष्कर्ष दिन पनि नसक्ने दावी गरे । उनले भने– ‘नेपाली कांगे्रसका दिलमण बुढाथोकीले आफ्नो हट नछोड्नु र नेकपा एमालेका बालाराम बुढाले पनि एमालेको नेतृत्वमै हुनुपर्छ भन्ने भएपछि सहमति हुन सकेको छैन, दिलमण बुढाथोकीले इच्छा राखेर मात्र हुँदैन हामीसँग पनि छलफलमा आउन सक्नुप¥यो, बाहिर–बाहिर म हुनैपर्छ भनेर अहम् राखेर कसरी सहमति हुन्छ ? हाम्रो पार्टी भन्ने पक्षमा म छैन राम्रो काम गर्न सक्ने इमान्दार व्यक्ति आजको समस्या समाधान गर्न सक्ने जो–कोहीलाइ पनि हामी समर्थन गर्छौं, त्यसमा हाम्रो पार्टीको तर्फबाट यो भन्दै उचाल्ने माहोल विगार्न हामी चाहन्नौ ।’ उनले थपे– यदि एमालेले कांगे्रसको उम्मेदवारलाई स्वीकार्छ भने हामी बाधक बन्दैनौ, दिलमण र नजरलाई जुधाएर गोल हान्ने दाउमा कोही छन् भन्ने कुरा दिलमणजीले बुझ्नु भएन तर मैले एन्टी गोल हानेको सबै गोलकिप्परको हातमा छ, यदि सहमति जुट्न सक्दैन भने होलेरी क्षेत्रका अग्रजद्वय रुद्रमणि सुबेदी र टेकबहादुर बस्नेतलाई एकलाई स्वीकार गरेर अगाडि बढौं, मिल्नुको विकल्प छैन त्यसमा म र हाम्रो पार्टी बाधक बन्दैन ।’
उता, विद्यालयका प्र.अ रुद्रकुमार सुबेदीले लामो समयको विदा र केही राजनैतिक दलको मतभेदले गर्दा अन्योलमा रहेको विव्यस गठन अब छिट्टै हुने बताएका छन् । उनले भने– ‘राजनैतिक दलका सबै नेताले समय माग्नुभएको हो, एक हप्ताका लागि भनेको आजसम्म पनि कुनै खवर आउन सकेको छैन अब हामी छिट्टै भेला बोलाउँछौ अनि प्रक्रियामा अगाडि बढ्छौ । मेरो चहाना सबै मिलेर सर्बपक्षीय समिति निर्माण होस् अनि विद्यालयका हरेक गतिविधिमा साथ पाइयोस् भन्ने नै हो । मिल्नुको विकल्प छैन, मिलेर चाँडोभन्दा चाँडो आउन आग्रह गर्छु तर मिल्ने बहानामा विद्यालयलाई यस्तो हालतमा राख्न मिल्दैन जतिसक्दो चाँडो विव्यस गठन हुनुपर्छ र हुन्छ पनि ।
विगतदेखि सहमति नजुट्नुले विद्यालयको खासै प्रगतिहरु हुन सकेको पाइँदैन । विद्यालयको भौतिक शैक्षिक एवं अन्य धेरै सवालहरु अस्तव्यस्त अवस्थामा रहेको यो समयमा राम्रो भिजन भएको, विद्यालयको मुहार फेर्ने नेतृत्व विद्यालयलाई आवश्यक रहेको र अभिभावकले त्यहीँ चाहेको अभिभावकहरु बताउँछन् । राजनैतिक थलो बनेकै कारण विद्यालयको यो दशा भएको भन्दै अबको नेतृत्व कुनै पनि राजनीतिमा संलग्न नभएको समाजसेवी व्यक्तिलाई ल्याउनुपर्नेमा कतिपय अभिभावकले दबाव दिन थालेका छन् ।

314 total views, 1 views today