माडीखोलाबाट ६६ मेगावाट बिजुली निकाल्ने सरकारको योजना

राेल्पा अनलाइन Tuesday, November 8, 2016

उर्जा मन्त्री जनार्दन शर्माले रोल्पाको माडीखोलाको पानीलाई दाङमा लगेर विद्युत निकाल्न र सिँचाई गर्न सकिने गरी प्राबिधिक अध्ययन भएको बताउनुभएको छ ।
नेकपा माओबादी केन्द्र दाङले मंगलबार घोराहीमा आयोजना गरेको दाङ जिल्लाको समग्र विकासका लागि उर्जा, जलश्रोतको सम्भावना र लगानी बिषयक कार्यक्रममा बोल्दै उर्जा मन्त्री शर्माले माडीखोलाको पानीलाई सुरुङ मार्फत दाङमा ल्याउन सकिने बताउनुभएको हो ।
करिब १७ किलो मिटर सुरुङ खोलेर माडीको पानी घोराहीको सिरानमा ल्याउन सकिने र त्यसबाट ६६ मेगावाट विद्युत निकाल्नुका साथै ७५ हजार हेक्टर जमिन सिँचाई गर्न सकिने योजना बनेको जानकारी दिनुभयो । उक्त योजनाको सम्भाव्यता अध्ययन समेत भैसकेको र सरकार, समुदाय, निजी क्षेत्रको साझेदारीमा काम गर्ने गरी प्राबिधिक अध्ययन भएको जानकारी दिनुभयो । जलस्रोतको सदुपयोग हुन नसकेको भन्दै उहाँले अब सरकारको नेतृत्व र निजी क्षेत्रको सहकार्यमा घरघरमा विजुली सँगै घरघरको सेयर लगानी गरी दाङको बिकास गर्ने योजना रहेको बताउनुभयो ।
त्यसैगरी बैकल्पिकरुपमा शारदा नदी र स्यूरीको पानीलाई समेत दाङमा ल्याएर देउखुरी सहित घोराही र तुलसीपुर क्षेत्रको भु–भागमा सिँचाई गर्न र विद्युत निकाल्न सकिने उहाँको भनाई छ । मन्त्री शर्माले रोल्पाको कुन ठाउँबाट सुरुङ निर्माण गर्ने भन्ने बारेमा भने जानकारी गराउनु भएन ।
कार्यक्रममा उर्जा बिज्ञ कृष्ण शर्माले दाङमा जलस्रोतको माध्यमबाट विद्युत निकाल्न सकिने योजनाका बारेमा अध्ययनको खाकाका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा बिभिन्न गाबिसका नागरिकहरुले विद्युत बिस्तारका लागि उर्जामन्त्री शर्मालाई ज्ञापन पत्र समेत बुझाएका छन् । कार्यक्रममा बोल्ने बक्ताहरुले सरकार दिगो नहुँदा कार्य प्रगति पनि सन्तोषजनक हुन नसकेको भन्दै दलहरु प्रति गुनासो गरेका थिए ।

260 total views, 1 views today