आरन उद्योगले बनाएको सम्मृद्ध जीवन

माधवकुमार अाेली Tuesday, November 8, 2016

परम्परागत रुपमा दलित समुदायहरुले मात्र गर्दै आएको कृषि औजार बनाउने आरन पेशा पछिल्लो समयमा लोप हुदै गएको छ ।
उक्त आरन पेशालाई आधुनिकिकरण गरी व्यवसायिक रुपमै सञ्चालन गर्ने हो भने राम्रो आम्दानी हुने उदारहण बनेको छ रोल्पाका २ जना गैरदलित युवाले सञ्चालन गरेको काटगाउँले कृषि औजार निर्माण उद्योग ।
रोल्पा जिल्लामा परम्परागत रुपमा दलित समुदायहरुले गर्दै आएको कृषि औजार बनाउने आरन पेशा पछिल्लो समय लोप हुदै जान थालेको थियो । तर यो पेशालाई आधुनिकिकरण गरी व्यवसायिक रुपमै सञ्चालन गर्ने हो भने स्वरोजगार बन्न सकिन्छ भन्ने उदारहण बनेका छन् रोल्पा कोटगाउँ गाविसका यी २ जना गैरदलित युवाहरु ।

 
गत २ वर्ष अघि घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय रोल्पाले सञ्चालन गरेको ३ महिने कृषि औजार निर्माण तालिम लिएर यो पेशामा लागेका कोटगाउँ–१ का सशिराम घर्ती र प्रेम बहादुर बाँठाले अहिले उद्योग नै दर्ता गरी व्यवसाय सुरु गरेका छन् ।
करिब ३ लाख रुपैयाँको लगानीमा स्थापना गरिएको यो उद्योगमा कुटो, कोदालो, फरुवा, बन्चरो, हँसिया, खुकुरी, खुर्पा लगायतका कृषि औजारहरु बनाउने गरिन्छ ।
मासिक रुपमा घर खर्च चलाएर करिब १० देखी १५ हजारसम्म आम्दानी हुने गरेकोले सीप र जागर भएमा गाउँमै स्वरोजगार बन्न सकिने आरन व्यवसायी सशिराम घर्तीको भनाई छ ।
पछिल्लो समय जिल्लामा कृषि व्यवसाय विस्तार हुदै गएकाले कृषि औजारहरुको माग पनि बढेकोले दुई जनाको व्यक्तिगत लगानीमा उद्योग खोलेको र अहिले राम्रो आम्दानी भइरहेको अर्का व्यवसायी प्रेमबहादुर बाँठाले बताए । आरन पेशा दलितहरुले मात्रै गर्नुपर्छ भन्ने पुर्खौलीको भनाईलाई आफुहरुले गलत साबित गरेको उनीहरुको भनाई छ । परम्परागत रुपमा आफ्नै बाउ, बाजेहरुले गर्दैआएको पेशा, व्यवसायलाई आधुनिकिकरण गर्ने हो भने आफ्नै गाउँ ठाउँमा स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण हुन् यी युवाहरु । रोजगारी छैन् भन्दै खाडी मुलुकमा पसिना बगाउन जाने युवाहरुले यी व्यवसायीबाट पाठ सिक्न जरुरी छ । सरकारले पनि देशमा रोजगारी सृजना गर्नका लागि यस्ता व्यवसायीक तालिमहरु सञ्चालन गरी युवाहरुलाई प्रोत्साहन गर्न आवश्यक छ ।

314 total views, 1 views today